नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र इद नेपालगञ्जमा आज हर्षोल्लासका साथ धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत रोजापछि नेपालगञ्जको इदगाहमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो ।
सडकमा खचाखच मुस्लिम भक्तजन कोही सडकमा, कोही मस्जिदभित्र त कोही घरका छतछतमा बसेर नवाज पढ्दै थिए । मस्जिदभित्र स्थान साँघुरो भएका कारण आधाभन्दा बढी प्रार्थना गर्नेहरू सडकमै कपडा ओछ्याएर प्रार्थना गरिरहेका थिए । प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ । रमजान सकिएको खुसीयालीमा इदगाहमा जम्मा भएर सामूहिकरूपमा प्रार्थना गरी एकापसमा शुभकामना साटासाट गर्नेसमेत प्रचलन छ ।
‘इद उल फित्र’ इदका अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाइ, जर्दा पुलाउजस्ता विशेष पकवान पकाई आफू खाने र आफन्तका घरमा पठाउने प्रचलनसमेत रहेका कारणले यसलाई मिठी इद पनि भन्ने गरिन्छ । रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा गरिब तथा विपन्नलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहेको नेपालगञ्जका मुस्लिम अगुवा निजामुद्दिन इद्रिसीले जानकारी दिए । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । उनले देशको विकास र सुख, शान्तिको लागि प्रार्थना गरेको बताए ।
जैसपुरका स्थानीयवासी तथा व्यापारी नुरुल हसन राईले यस वर्ष खुसीका साथ इद मनाएको उल्लेख गर्दै भने , “यसपालि लकडाउन छैन, इदगाह खुला छ, त्यसैले इदगाहमा नमाज अदा गरी इद मनाइँदैछ ।” बाँके जिल्लामा १०० वढी मस्जिदमा इद मनाइएको छ । –रासस