तनहुँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो । दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
“मौखिक उजुरी आउने क्रम बढेको छ, लिखित रुपमा भने आएको छैन”, ढकालले भने , “उल्लङ्घनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौँ ।” निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लङ्घन भइरहेको छ । आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए । “निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौ”, ढकालले भने ।
निर्वाचन कार्यालयले दशवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक निर्वाचन सामग्री पठाउनका लागि प्याकिङ गर्ने काम अन्तिम चरणमा पुयाएको छ । साथै कर्मचारी छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । कर्मचारी छनौट गरिएपछि तालिम दिएर कर्मचारीलाई मतदानस्थल पठाइने ढकालले बताए । वैशाख २१ गतेभित्र कर्मचारी छनौट गरी २३ र २४ गते तालिम दिने तयारी छ । २७ गतेभित्र दशवटै पालिकामा कर्मचारी परिचालित भइसक्नेछन् । कर्मचारीसँगै मतपत्र र आवश्यक सामग्री मतदानस्थल पु¥याइनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी पनि परिचालित गरिसकेको छ ।
यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारको विवरण सङ्कलन सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँ शाखाले पत्रकारलाई आचारसंहितामा कडाइ गरेको हो । निर्वाचनका बेला पत्रकारबाट आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले यथार्थ विवरण सङ्कलनका लागि अनुगमन सुरु गरिएको महासङ्घका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए । –रासस