धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारका लागि मत मागेका छन् । सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् ।
पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा चौधरी लगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन आग्रह गर्दै उनले उक्त टीमले विगतमा पनि राम्रो काम गरेको थियो र आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रकी लक्ष्मी चौधरीले बागी उम्मेदवारी दिएकी छन् । उनी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।
प्रचण्डले गठबन्धन गर्नु भनेको झुक्नु नभएको टिप्पणी गर्दै भने, ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन । गठबन्धन क्लियर भएको छैन, उम्मेदवार जुनसुकै रूपले अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्दछु ।’ उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए ।