म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालकलाई कारबाही, १० हजार जरिवाना र केहि समान बरामद

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । जिल्ला बजार अनुगमन समितिले काभ्रेपलाञ्चोकको बनेपाका एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गर्दा बनेपा नगरपालिका–७ तरकारी बजार डाँडाका रोहित श्रेष्ठलाई कारबाही गरिएको बताए ।

बजार अनुगमनका क्रममा श्रेष्ठले सञ्चालन गरेको गोल्मादेवी अडर एण्ड सप्लायर्सले म्याद नाघेका सामान राखेको, गोदाममा सरसफाइ नगरेको तथा मूल्यसूचीसमेत नराखी सञ्चालन गरेको पाइएको छ । उनलाई रु १० हजार जरिवाना गरिएको छ । सो क्रममा पसलबाट म्याद गुज्रेका चिउरा २२ बोरा, चामल ६ बोरा र मैदा दुई बोरा बरामद गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माका अनुसार खाद्यान्न पसल सञ्चालकले मूल्यसूची राख्नुपर्ने, गोदामको सरसफाइ गर्नुपर्ने र म्याद गुज्रेका सामानको व्यवस्थापन गर्नुपर्ने, होटलले सरसफाइमा ध्यान दिनुपर्ने, मूल्यसूची राख्नुपर्ने तथा दर्ता र नवीकरण गर्नुपर्ने विषयमा सचेत गराइएको छ । उद्योगबाट उत्पादन गरेको जार र बोतलमा मिति स्पष्ट हुनुपर्ने, पुरानो जार प्रयोग बन्द गर्नुपर्ने, पानीको गुणस्तर निरन्तररूपमा जाँच गर्नुपर्नेलगायत विषयमा सचेत गराइएको कुस्माले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्