मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ ।

डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८-७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिए । “एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ”, उनले भने , “यसपालि एक लाख ८७ हजार घनमिटर कटिङ र तीन हजार ५१० घनमिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ ।” विसं २०७८ चैत १७ गते रु चार करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ ।

निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए । दुई वटा एक्साभेटर डोजरले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताए । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुयाउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ ।

एघार मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो । यो सडकलाई आर्थिक वर्ष २०७६-०७७ मा रु ११ करोड, २०७५-०७६ मा रु चार करोड बजेट विनियोजन भएको थियो । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए । हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्