भरतपुर–बर्दघाट क्षेत्रमा नयाँ प्रसारण लाइन सञ्चालनमा, थप गुणस्तरीय बिजुली प्रवाह हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एक पछि अर्को रुग्ण आयोजना सम्पन्न गर्दै गएको नेपाल विद्युत् प्राधिकरणले भरतपुर–बर्दघाट २२० किलोभोल्ट केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको छ । चितवनको भरतपुरबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वको बर्दघाटसम्मको प्रसारण लाइन सञ्चालनमा आएपछि नवलपरासी क्षेत्रमा थप गुणस्तरीय बिजुली समेत प्रवाह हुनेछ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सवस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह चार्ज गरी परीक्षण सञ्चालन गरिएकामा आजदेखि पूर्ण रुपमा सञ्चालन गरिएको छ ।

नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । कूल ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ ।

भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सवस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सवस्टेसनसम्म विद्युत प्रवाह हुने छ । अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सवस्टेसनमार्फत विद्युत् आपूर्ति हुने छ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत् खपत हुने गरेको छ ।

पुरानो १३२ केभी लाइनबाट कावासोतीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत सिधैँ पठाउन सकिने छ । अहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो । अहिले चालु रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने बाध्यात्मक अवस्था थियो ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकाले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिने भएको छ । भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ मेगावाट विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

“भरतपुरतर्फ विद्युत्को माग बढिरहेको तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत् पठाउन सकिरहेका थिएनौँ, अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकाले थप विद्युत् बर्दघाटतर्फ पठाउन सक्छौँ, यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ”,कार्यकारी निर्देशक घिसिङले भने । यस्तै, पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिका लागि टनकपुरबाट बाध्यात्मक रुपमा गर्नुपर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने जनाइएको छ । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयवासीको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण पूरा हुनसकेको छैन ।

सर्वोच्च अदालतले आइतबार रिट खारेज गरिदिएकोले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ । प्रसारण लाइनको मार्गाधिकार परिवर्तनको माग गदै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएका थिए । सर्वोेच्च अदालतले रिट खारेज गरिदिएकाले अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त गरिदिएको हो । सो इजलाशले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्