सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन् ।  बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक बनेको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह गरे ।

उनीहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई पनि ख्याल राख्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डा डिला सङ्ग्रौला पन्थले देशभर रोपाइँ चलिरहेको भए पनि किसानले मल नपाएको उल्लेख गर्दै किसानले मल कहिले पाउँछन् भनी प्रश्न गरे । सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडकमा प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै उक्त सडक सुधार गर्न माग गरेका छन् । सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन नसकेको भन्दै नागरिकता विधेयक कहिले संसद्मा पेश हुन्छ भनी प्रश्न गरे । सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गरे ।

सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकार निर्णयबारे परराष्ट्र मन्त्रालयले गरेको पत्राचारका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले नेपाल आइपिएसको सदस्य बन्न नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे(नगरेका बारे जानकारी गराउन माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलको व्यवस्था गर्न सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए । सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग गरे ।

सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता दिने गरी विधेयक ल्याउन नहुने बताए । “नेपाली नागरिकले नागरिकता नपाएको भए उनीहरुलाई तत्काल नागरिकता दिनुपर्छ”, उनले भने , “हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सचेत हुनुपर्छ ।” सांसद निरुदेवी पालले किसानले मल, नागरिकले नागरिकता र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पद्मकुमारी अर्यालले जनसरोकारका विषय सम्बोधन गर्न सरकारले ध्यान नदिएको बताए ।

चालु आवमा निर्माणाधीन विभिन्न २३१ आयोजनालाई बजेट कटौती गरिएको उल्लेख गर्दै उनले ती आयोजनालाई तत्काल बजेट विनियोजन गर्न आग्रह गरे । सांसद पुष्पा भुसाल गौतमले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विप्रेषणको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान साझा सङ्कल्प पारित गर्न आग्रह गरे । सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भइरहेको भन्दै तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवावले नगरकोट–दुवाकोट सडक तत्काल निर्माण सम्पन्न गरी पर्यटकीय क्षेत्रमा हुने आवातजावतलाई सहज बनाउन माग गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्