काठमाडौं । प्रदेश संरचना खारेज हुनुपर्ने लगाएतका माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेका हुन् ।
उनीहरुले महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाईराखेको र ठूला–ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाएका छन् । मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको उनको भनाई छ ।
त्यस्तै उनले चार बर्षसम्म सदनमा छलफल भएको नागरिकता बिधेयक फिर्ता लिएर नागरिकको हित बिपरितको बिधेयक ल्याउने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । उनले जनताको जनजिविकाका बिषयमा सरकार गम्भीर नभएसम्म बिरोधका कार्यक्रम जारी राख्ने स्पष्ट पारेका छन् ।