काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, जाजरकोटका उदयबहादुर चलाउने, रोल्पाका सन्तोष बुढामगर, बाबुलाल पुनमगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, नविन विश्वकर्मा, गोरखाकी उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, स्याङ्जाका सुदीप कुँवर लगायतका रहेका छन् ।
यसैगरी कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल, सन्जिव नेपालीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
उनीहरुलाई अदालतले ३५ दिन भित्र उपस्थित हुन भनेको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिइएको छ । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति भएको थियो । त्यसअघि हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।