काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ । मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै तत्कालीन भूमिसुधार अधिकारीसँग २० वर्षको लिज सम्झौता गरेर एक रोपनी जग्गा प्रयोग गर्दै आएको भन्दै अस्वीकार गरेको हो ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०६५ सालमा तत्कालीन भूमिसुधार अधिकारीसँग सम्झौता गरेको भन्दै कागज पनि देखाएका थिए । सिंहका अनुसार बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो भने प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सम्झौतामा उल्लेख छ । त्यसअनुसार अहिले जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको छ ।
हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैं नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अस्पतालले अवैध रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए । उनले २४ घन्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गराएका छन् । तर, सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न असम्भव भएको बताएका छन् ।
उनले भने, ‘त्यो जग्गाबाट हामीले टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेका छौं । त्यो सबै तुरुन्तै हटाइदिने हो भने अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरु के गर्ने रु उनीहरुको ज्यान गयो भने को जिम्मेवार हुने रु सरकारका तर्फबाट तत्कालीन भूमिसुधार अधिकारीले हस्ताक्षर गरेर दिइएको जग्गा हो । जग्गाको भाडा कम भयो भने त्यसको जिम्मेवार पनि सरकार नै हुन्छ । हामीले त कम भाडामा लिन चाहनु स्वाभाविकै हो, मेयर साह आएर सूचना टाँसेर गएपछि मैले हिजै उहाँलाई पत्राचार गरेर तत्काल भत्काउने अवस्था नरहेको भनी जानकारी गराएको छु । तर, मेरो पत्रको जवाफ आएको छैन ।’
सरकारसँग बकाइदा सम्झौता गरेर लिइएको जग्गालाई अवैध प्रयोग गरिएको आरोप लगाइएकोमा सिंहले दुःख व्यक्त गरेका छन् ।