मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ ।

सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसंग माग गरे । यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरे । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए । यसबाहेक सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडकनै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए ।

खोला किनारामा रहेको काठमाडौं तर्फ पाँच घर बगाएको छ । बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली रातिनै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धारकार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए । रेडक्रसकर्मी धर्मराज कार्कीको नेतृत्वमा रातिबाट नै स्वयंसेवक टोली परिचालन गरी खोज तथा उद्धारलगायतका काम गरेको, बुधबार दिउँसो क्षतिको विवरण सङ्कलन गरेको र आज राहत वितरण गर्ने कार्य अगाडि बढाएको सभापति थापाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कार्यालय प्रमुख उमा थापाले रेडक्रसले गरेको क्षति विवरण सङ्कलनमा सुकुम्वासी बस्तीमा पाँच , बस्ती भन्दामाथि ११ गरी १६ घर तथा हटरा भत्किएको, सुकुम्वासी बस्तीको ३०० घर टहरामा क्षति पुगेको, जस्ताले काटेर एकजना घाइते भएको र खानेपानीको अभाव रहेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्