काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।
सो भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको जानकारी दिएका छन् । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरेका छन् । उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताएका छन् । साथै, उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमासमेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा प्रसन्नता व्यक्त गरेका छन् ।
उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेका छन् । सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेलायतको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे । यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारकोतर्फबाट थप उदारताका लागि अनुरोध गरेका छन् ।
त्यसैगरी नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान-प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताएका छन् ।