बागमतीमा भूमि बैंक स्थापनाको तयारी अन्तिम चरणमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागमती प्रदेश सरकारले भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहीबार मकवानपुरको बकैया गाउँपालिकास्थित कृषि उद्योग ग्रामको अनुगमनका क्रममा सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री चित्रकारका अनुसार आगामी आर्थिक वर्षदेखि नै भूमि बैंक स्थापना तथा सञ्चालनलाई तीव्रता दिइनेछ । संघ र स्थानीय तहले पनि यसअघि भूमि बैंकको योजना बनाए पनि कार्यान्वयनमा ल्याउन सकेका थिएनन् । भूमि बैंकले औद्योगिक वातावरण निर्माण, लागत न्यूनीकरण र उद्योग स्थापनाका लागि जग्गा प्रदान गर्नेछ । अलपत्र परेका सरकारी तथा निजी जग्गाको प्रयोग गरी उत्पादन र सरकारी राजस्वमा वृद्धि हुने मन्त्री चित्रकारले बताएका छन् ।

उनले भने, ‘प्रदेश सरकारसँग रहेको सीमित स्रोत साधनको प्रयोग गरी सेवा प्रवाह, उत्पादन वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्ने प्रयास भइरहेको छ।’ उनले प्राकृतिक स्रोतको प्रयोग गरेर मात्र मुलुक समृद्ध हुन सक्ने भन्दै त्यसतर्फ प्रदेश सरकार अग्रसर रहेको जानकारी दिएका छन् । प्रदेश सरकार रहँदा नै संघीयताको अनुभूति हुने र विकास कार्यमा तीनै तहको सहकार्य जरुरी रहेको मन्त्री चित्रकारको भनाइ छ । नले सरकारी बजेट पूर्वाधारतर्फ केन्द्रित भएकाले बागमती प्रदेशको औद्योगिक विकास कमजोर रहेको स्वीकार गरे । रोजगारी सृजना नगरी दिगो विकास सम्भव नभएकाले उद्यमशीलतामा जोड दिइनुपर्नेमा मन्त्री चित्रकारको जोड छ ।

बकैया गाउँपालिका उद्यमशीलतातर्फ अगाडि रहेकाले आफू उत्साहित भएको उनको भनाइ छ । थोरै पालिकाले मात्र उद्यमशीलताका काममा अघि बढेका कारण प्रदेश सरकार उद्यमशीलताका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री चित्रकारले जनाएका छन् । उद्योग, वाणिज्य, भूमिसम्बन्धी नीति नभएका कारण विभिन्न समस्या देखिएकाले आवश्यक नीति निर्माण गरिरहेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्