काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफू सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
सो भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु । तपाईँहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंग्याउन चाहन्छु । यसमा तपाईँहरूको पनि सहयोग चाहियो ।’