काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा उनले यस्तो स्पष्ट पारेका हुन् ।
नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ । सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’ पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा छिट्टै निर्णय लिइने उनको भनाइ छ ।प्रधानमन्त्रीले आफूले प्रधानमन्त्रीका रुपमा मुलुकलाई विश्वमाझ चिनाउन प्रयत्न गरेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट विभिन्न मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको बताएका छन् । ‘संयुक्त राष्ट्र सङ्घको महासचिवको नेपाल भ्रमण तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जनाएको सहभागिताबाट नेपालप्रति विश्व समुदायको ध्यान गएको छ’, उनले भने । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताएका छन् ।
‘लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चारजगत्बाट सहयोगको अपेक्षा गरिएको जनाएका छन् । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।