काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार सुदुरपश्चिम प्रदेशको केही भागलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ । साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमासमेत हल्का हिमपातको सम्भावना रहेको हो ।
त्यस्तै, बुधबार राती भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।