काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय अखबार द हिन्दुलाई दिएको अन्तर्वार्ता सच्याएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनी दिएको अभिव्यक्ति सच्चाएका हुन् । आफू प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण चीनकै गरेको उनले बताएका छन् ।
आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए । छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । ‘उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको हो’, उनले आफ्नो अभिव्यक्ति सच्याउँदै प्रष्ट पारेका थिए ।