Skip to content

बाजुरामा निःशुल्क स्वास्थ्य शिविर उद्घाटन, दानीले रोगलाई ठुलो शत्रु बताइन्

कालोपाटी

१ महिना अगाडि

बाजुरा । सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले रोग नै सबैभन्दा ठुलो शत्रु भएको बताएकी छन् । आइतबार जिल्ला अस्पताल बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मानिसले सहज रुपमा जीवन जिउन सबैभन्दा पहिला उसलाई स्वस्थ्य शरीर आवश्यक हुनुपर्ने बताउँदै उनले कसैले पनि रोग पालेर बस्न नहुने बताइन् । स्वास्थ संवेदनशील क्षेत्र भित्र पर्ने भएकाले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्ने कुरामा दानीले जोड दिइन् ।

व्यक्तिसंग धनदौलत,ऐशआराम जति भए पनि जब शरीर नै रोगी छ भने त्यसले जीवनभर सताईरहने उनले बताएकी हुन् । उनले भनिन्, ‘व्यक्ति विरामी अर्थात् रोगी छ भने त्यो कहिल्यै तृप्त हुन सक्दैन् । न उसले देशदुनियाँ घुमेर रोमाञ्चक गर्न सक्छ नत सहज जीवन जिउन । त्यसैले मानिसको सबैभन्दा ठूलो शत्रु भनेकै रोग हो ।’

मानिसका लागि सबैभन्दा ठूलो उपलब्धि भन्नु नै निरोगी हुनु हो । निरोगी रहनु जस्तो आनन्द अरू केही हुन सक्दैन् । त्यसैले रोगलाई परास्त गरि निरोगी जीवन जिउन आवश्यक छ । रोग नै त्यस्तो शत्रु हो, जसले हामीलाई खान दिन्छ,न सुत्न दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ ।दानीले बताएकी हुन् ।

साथै उनले बाजुरा जस्तो दुर्गम तथा पिछडिएका ठाउँमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुनु खुशीको कुरा रहेको समेत बताइन् । शिविरबाट प्रदान गरिने हरेक सेवा लिन सम्पूर्ण बाजुसाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह दानीले गरेकी हुन् ।
निःशुल्क स्वास्थ शिविर सञ्चालनबाट यहाँका गरिव, दुखि, उपचार नपाएका व्यक्तिहरुका लागि शिविर वरदान सावित बन्ने अपेक्षा लगिएको समेत उनले बताइन् । दुर्गमका नागरिकलाई सेवा दिन सहयोग गर्ने नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञहरुलाई धन्यवाद समेत दिएकी छन् ।

२१ गतेसम्म सञ्चालन हुने उक्त शिविर नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । ४७ औं बर्ष देखि गैरनाफामुलक सेवा दिँदै आएको नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न रोगबाट ग्रसित विरामीहरुलाई सहज रुपमा सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्