Skip to content

चुनाव गराउने जिम्मेवारी सरकारको हो, हामी हार्न सक्छौं तर भाग्दैनौंः शेखर कोइराला

कालोपाटी

३५ मिनेट अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार असफल भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मोरङ समाज काठमाडौंको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकमा निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन हुन सक्ने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नका रूपमा उभिएको बताए ।

सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने नै अहिलेको मुख्य चिन्ता रहेको उनको भनाइ थियो ।

कांग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै उनले भने, “हामी एउटा लोकतान्त्रिक पार्टी हौं । हार्न तयार छौं, हार्न सक्छौं, तर निर्वाचनबाट भाग्दैनौं । निर्वाचन गराउने वातावरण बनाउने जिम्मेवारी सरकारको हो । त्यसका लागि सरकारले काम गर्नुपर्‍यो, कम्तीमा शान्ति–सुरक्षा दिनसक्नुपर्‍यो ।”

उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको रहेको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्तै खस्किएको दाबी गरे । सेनाले निर्वाचन गराउँछ भन्ने भ्रमबाट सबै स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको सन्दर्भ स्मरण गराउँदै उनले त्यसबेला गम्भीर अपराधका कैदीहरू फरार रहेको र समाजमा हजारौँ हातहतियार खुलेआम रहेको उल्लेख गरे । यस्तो अवस्थामा पनि निष्पक्ष निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्नेमा उनले शंका व्यक्त गरे ।

२३ भदौमा भएको जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनको जति निन्दा गरे पनि कम हुने उनले बताए । तर २४ भदौमा भएको तोडफोड र विध्वंसलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै सिंहदरबारदेखि प्रदेशस्तरीय संरचना र नेताहरूका निवाससम्म तहसनहस पारिएको घटनाप्रति गम्भीर प्रश्न उठाए ।

“के यति ठूलो विध्वंस केवल जेनजी आन्दोलनकै कारण सम्भव थियो ? कि यो कांग्रेस–एमालेको सरकार हटाउने नियोजित प्रयास हो ?” भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्