Skip to content

जेनजी विद्रोहदेखि सत्ता परिवर्तनसम्म: २०२५ ले हल्लाएको नेपाली राजनीति

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । सन् २०२५ नेपाली राजनीतिका लागि उल्लास र चुनौतीले भरिएको, ऐतिहासिक रूपमा निर्णायक वर्षका रूपमा स्मरणीय रह्यो। राजनीतिक अस्थिरता, सत्ता परिवर्तन, जनआन्दोलन र दुर्लभ घटनाक्रमका कारण देशले एकै वर्षमा गहिरो उथलपुथलको सामना गर्नुपर्‍यो।

वर्षको सुरुवातमै सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीचका असहमति र विवादले राजनीतिक वातावरण तनावग्रस्त बन्यो। ती निर्णयहरूले जनआक्रोश र असन्तुष्टि बढाउँदै लग्यो, जसको चरम रूप जेनजी पुस्ताको नेतृत्वमा देखिएको विद्रोहमा प्रकट भयो। यस आन्दोलनले परम्परागत राजनीतिक नेतृत्व र दल संरचनालाई खुला चुनौती दिएको विश्लेषकहरू बताउँछन्।

जेनजी आन्दोलनको उदय

राजनीतिक दलहरूबीचको खिचातानी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विषयले युवा पुस्तालाई सडकमा ल्यायो। नेतृत्वविहीन तर व्यापक सहभागितासहितको जेनजी आन्दोलनले देशको सामाजिक तथा राजनीतिक चेतनालाई नयाँ ढंगले परिभाषित गर्‍यो।

सामाजिक आन्दोलन र नागरिक दबाब

२०२५ सामाजिक आन्दोलनका दृष्टिले पनि महत्वपूर्ण रह्यो। महिला, श्रमिक, शिक्षक तथा विभिन्न समुदायका नागरिकहरू आफ्ना अधिकार र प्रतिनिधित्वको मागसहित सडकमा उत्रिए। यसले सरकार र दलहरूलाई जवाफदेही बन्न दबाब सिर्जना गर्‍यो।

गठबन्धन सरकार र राजनीतिक अस्थिरता

वर्षको सुरुवातमा केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बने। एमाले–कांग्रेस गठबन्धन सरकार राष्ट्रवादी एजेन्डासहित अघि बढे पनि सत्ता सञ्चालनमा निरंकुश प्रवृत्ति देखिएको आरोप लाग्यो, जसले अस्थिरता झनै चर्कायो।

राजावादी आन्दोलन

गत चैत १५ गते राजतन्त्र पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्यो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकार सुरेश रजतको मृत्यु भयो भने रविन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंलगायत नेताहरू पक्राउ परे।

शिक्षक आन्दोलन

यसै वर्ष शिक्षकहरूले शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन गरे। हप्तौंसम्म चलेको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भयो भने शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपर्‍यो।

इतिहासकै गम्भीर राजनीतिक संकट

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयले २०२५ को सबैभन्दा ठूलो संकट निम्त्यायो। फेसबुक, युट्युब, इन्स्टाग्रामसहित २६ सामाजिक सञ्जाल बन्द भएपछि जेनजी आन्दोलन हिंसात्मक बनेर देशभर फैलियो। भदौ २३ र २४ गते भएका घटनामा कम्तीमा ७० जनाको ज्यान गयो भने अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भयो।

प्रधानमन्त्रीको राजीनामा र अन्तरिम सरकार

जेनजी आन्दोलनपछि सेप्टेम्बर ९ मा प्रधानमन्त्री ओलीले राजीनामा दिए। राजनीतिक अस्थिरताका बीच राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सेप्टेम्बर १२ मा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। संघीय संसद् विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरियो।

दलहरूबीच एकता र पुनर्संरचना

कार्तिक १९ मा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलबीच एकताको घोषणा भयो। कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर विवाद चर्कियो भने एमालेले डिसेम्बरमा महाधिवेशन गरी केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष चयन गर्‍यो।

वर्षको अन्त्यतिर नयाँ राजनीतिक संकेत

नोभेम्बरमा जेनजी समूह फेरि सडकमा उत्रियो। डिसेम्बरमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने रिहा भए। कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहबीचको सम्भावित राजनीतिक सहकार्य व्यापक चर्चामा रह्यो। निर्वाचन आयोगमा ११४ दल दर्ता हुनु नयाँ राजनीतिक शक्तिको उदयको संकेत मानिएको छ।

२०२५ ले नेपाललाई लोकतान्त्रिक पुनर्संरचना र राजनीतिक चेतनाको नयाँ चरणमा प्रवेश गराएको वर्षका रूपमा इतिहासमा अंकित गरेको छ।

प्रतिक्रिया दिनुहोस्