Skip to content

गाँजा फडानीमा प्रहरी सक्रिय, मुख्यमन्त्रीको खुला समर्थनले तान्यो विवाद

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा प्रहरीले अवैध गाँजा र अफिमखेती नष्ट गर्दै अभियान तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २१ बिघा गाँजा र ९ बिघा अफिमखेती फडानी गरी नष्ट गरिएको छ।

तर, यही भूगोलमा पुगेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक रूपमा गाँजाको औषधीय गुणको पक्षपोषण गर्दै, कानुन र नीति माथि प्रश्न उठाएका छन्। मुख्यमन्त्री बानियाँले आफूले लगाएको गाँजाको कोटको उदाहरण दिँदै, ‘गाउँलेले गाँजा खेती गर्दा जेल जानुपर्छ, तर माननीयले लगाउँदा किन सवाल उठ्छ?’ भनी टिप्पणी गरेका थिए।

मुख्यमन्त्रीले धर्मशास्त्र र वैज्ञानिक प्रमाणको सहारा लिएर गाँजालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। तर आलोचकहरूले कानुन भन्दा भावनात्मक बहस अगाडि राख्दा प्रशासनिक संयन्त्र अन्योलमा पर्ने भन्दै आपत्ति जनाएका छन्।

यस्तै, मुख्यमन्त्रीले आफ्नो सेवा–सुविधाबाट कैलाश–४ का विपन्न चेपाङ दम्पतीलाई घर हस्तान्तरण गरेका छन्। तर, घर हस्तान्तरण भएको भोलिपल्टदेखि त्यसै क्षेत्रको गाँजा र अफिम फडानी अभियान सुरु भएको थियो, जसले स्थानीय किसानलाई रोजगारी र आम्दानी गुमाउन बाध्य बनाएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन् -मुख्यमन्त्रीका अभिव्यक्तिले प्रदेश सरकारको नीति र प्रशासनमा द्वैधता देखाएको छ। संघीय कानुन अनुसार गाँजा लागूऔषध नै रहँदा प्रहरी फडानीमा जुटिरहेको छ, तर मुख्यमन्त्री सार्वजनिक मञ्चबाट यसको खुलेआम विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्