Skip to content

उच्च अदालत पाटनमा दुर्गा प्रसाईंविरुद्धको बैंकिङ मुद्दा स्थगित

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौँ । उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।

प्रसाईंका कानुन व्यवसायीले निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ। यस मुद्दामा १८ करोड ४४ लाख रुपैयाँ बराबरको बिगो कायम गरिएको छ।

दुर्गा प्रसाईं, उमा प्रसाईं, नीराजन प्रसाईं र आर्जु प्रसाईंलाई विपक्षी बनाइएको बैंकिङ कसुरमाथि न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेसी तोकिएको थियो।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको थियो। सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिलले उक्त प्रतिवेदनको आधारमा दुर्गा प्रसाईंविरुद्ध १८ करोड ४४ लाख बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरेका थिए। यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। साथै, पीडित राहत कोषमा क्षतिपूर्तिसम्म उपलब्ध गराउन पनि अदालतले आदेश दिएको थियो।

मुद्दामा प्रसाईंमाथि विभिन्न बैंक तथा वित्तीय संस्थामा गलत कारोबार (राउन्ड ट्रिपिङ) गरेको, स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार गरेको र अन्य शङ्कास्पद कारोबार गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्