काठमाडौँ । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५, द्वोन्द्राङ बेँसी नजिक त्रिशूली नदी किनारमा बसको अवशेष फेला परेको छ । प्रारम्भिक अनुमान अनुसार यो अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९, सिमलतालबाट गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, स्थानीयबासी माछा मार्ने क्रममा जाल अड्किएपछि बालुवामा केही पुरिएको वस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । अवशेष निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मेल खाएको हुनाले त्यही बस हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, बस निकालिएपछि मात्रै यकिन गर्न सकिने उनले बताए ।
गत वर्ष २०८१ साल असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट पहिरोसहित दुई वटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । ती बसहरू क्रमशः बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स थिए ।
अवशेष फेला परेको घटनामा दुई वटा बसमा सवार ६५ मध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए । घटनामा ५१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्