Skip to content

सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सञ्चालनको लक्ष्य

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ।

साईट इन्चार्ज सुदिप थापाका अनुसार ४०–५० जनाको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ। पहिले ठेक्का पाएका पप्पु लुम्बिनी जेभीलाई सरकारले कालो सूचीमा राखेपछि अब लुम्बिनी बिल्डर्सले बाँकी काम एक्लै गर्दैछ। थापाले ४० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी ६० प्रतिशत निर्धारित समयभित्रै पूरा हुने दाबी गरे।

यो पुल हुलाकी राजमार्गअन्तर्गत पर्छ र यसलाई पहिलेका ठेकेदारहरूले समयमै सम्पन्न नगर्दा १४ वर्षसम्म अधुरो रहँदै आएको थियो। पुल नभएको अवस्थामा स्थानीय बासिन्दाले जोखिमपूर्ण अस्थायी बाटो वा ६० किलोमिटर बढी घुमेर यात्रा गर्न बाध्य थिए।

सिरहाका स्थानीय श्याम सुन्दर सिंहले भने, “पुल सञ्चालनमा आएपछि आवतजावतमा डेढ घण्टा यात्रा समय घट्नेछ।”

सरकार र सडक विभागले पुनःनिर्माण कार्यलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीहरूले स्थलगत निरीक्षण गर्दै ढिलाइ नहोस् भन्न निर्देशन दिएका छन्।

पुल सञ्चालनमा आएपछि सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाबीच आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवर्द्धन हुनेछ र स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार