Skip to content

भरतपुरमा देशकै लामो ८८ किलोमिटर बृहत् चक्रपथ उद्घाटन

कालोपाटी

१४ घण्टा अगाडि

काठमाडौँ । देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकामा मंगलबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट ८८ दशमलव ६ किलोमिटर लामो चक्रपथको औपचारिक उद्घाटन गरेका हुन्।

महानगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको चक्रपथ निर्माण कार्य सात वर्षअघि सुरु भएको थियो। उद्घाटन समारोहमा मेयर दाहालले आफ्नो कार्यकालमा भरतपुरमा उल्लेखनीय भौतिक विकास भएको बताउँदै चक्रपथलाई महानगरको प्राथमिकता प्राप्त आयोजना भएको उल्लेख गरिन्। उनले उक्त सडकलाई राष्ट्रिय राजमार्ग (एनएच–७७) का रूपमा विकास गरिएको जानकारी दिइन्।

महानगरपालिकाले सडकको मापदण्ड ३० मिटर कायम गर्ने निर्णय गर्दै वडाबाट आएका सुझावका आधारमा व्यावहारिक ढङ्गले निर्माण कार्य अघि बढाइएको दाहालको भनाइ थियो। उपमेयर चित्रसेन अधिकारीले चक्रपथले भरतपुरको समग्र भौतिक, आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सङ्घीय, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको चक्रपथको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। चक्रपथ नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्नेछ भने गोन्द्राङबाट पटिहानी–जगतपुर हुँदै पुनः गोलाघाटमै जोडिने मार्ग रहेको छ।

यसै अवसरमा भरतपुर महानगरको केन्द्र भाग हुँदै बग्ने ३० दशमलव २ किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण अन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न भएका संरचनाको पनि उद्घाटन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्