Skip to content

गगन र देउवा पक्षको दाबी अध्ययन गर्दै निर्वाचन आयोग

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर गगन थापा र शेरबहादुर देउवा पक्षले गरेका दाबीमाथि निर्वाचन आयोगले अध्ययन थालेको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले दुवै पक्षका निवेदन अध्ययन गरिरहेको छ।
उनका अनुसार, “महाशाखाले अध्ययन गरेर आयोगमा पेस गर्नेछ। नियमित बैठकमै यसबारे छलफल हुनेछ।”

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको भन्दै थापा पक्षले पार्टीको आधिकारिकता आफूहरूको भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त निवेदनमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अद्यावधिक गर्न र आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा सभापति गगन थापाको हस्ताक्षर रहने व्यवस्था गर्न माग गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तोकिएको छ। यसअघि निर्वाचन आयोगमा कांग्रेसका उम्मेदवारको मनोनयनपत्रमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहने गरी अभिलेख रहेको छ। थापा पक्षले उक्त व्यवस्था परिवर्तन गरी आफ्नो हस्ताक्षर मान्य गर्न निवेदन दिएको हो।

यता, शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशन नै अवैधानिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा छुट्टै निवेदन दिएको छ। ‘जानकारी सम्बन्धमा’ शीर्षकमा दिएको निवेदनमा नेपाली कांग्रेसको नाममा काठमाडौँमा विशेष महाधिवेशन भएको भनिए पनि त्यो केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको उल्लेख गरिएको छ।

गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २६ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन सञ्चालन भएको थियो। सो महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको दाबी गरिएको छ। तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आयोगमा पत्र बुझाएको छ।

आधिकारिकता विवादमाथि आयोगले अध्ययन गरिरहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार