Skip to content

६०८ दिन अन्तरिक्षमा बिताएकी सुनिता विलियम्सले नासाबाट लिईन अवकाश

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौं । नासाकी वरिष्ठ अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्ष लामो सेवापछि अवकाश लिएकी छन् । नासाका अनुसार उनी डिसेम्बर २७, २०२५ देखि औपचारिक रूपमा सेवानिवृत्त भएकी हुन् ।

तीनपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा मिसन पूरा गरेकी विलियम्सले मानव अन्तरिक्ष उडानमा उल्लेखनीय कीर्तिमान कायम गरेकी छन् । उनले अन्तरिक्षमा जम्मा ६०८ दिन बिताउँदै नासा अन्तरिक्ष यात्रीमध्ये दोस्रो सबैभन्दा धेरै समय अन्तरिक्षमा रहने कीर्तिमान बनाएकी छन् । यस्तै, एकैपटक लामो अन्तरिक्ष बसाइको सूचीमा उनी छैटौँ स्थानमा छिन् । उनले नासा अन्तरिक्ष यात्री बुच विलमोरसँगै २८६ दिन अन्तरिक्षमा बिताएकी थिइन् ।

नासाका प्रशासक जारेड आइज्याकम्यानले विलियम्सलाई मानव अन्तरिक्ष उडानकी पथप्रदर्शक भन्दै उनको योगदानको प्रशंसा गरेका छन् । “अन्तरिक्ष स्टेशनमा उनको नेतृत्व र विज्ञान–प्रविधिमा गरेको योगदानले चन्द्रमा र मङ्गलतर्फका भविष्यका मिसनका लागि आधार तयार गरेको छ,” उनले भने ।

विलियम्सले नौपटक स्पेसवाक गर्दै जम्मा ६२ घण्टा ६ मिनेट अन्तरिक्ष बाहिर काम गरिन् । यो महिलामध्ये सबैभन्दा धेरै स्पेसवाक समय हो भने समग्र सूचीमा चौथो स्थानमा पर्छ । उनी अन्तरिक्षमै म्याराथन दौडने पहिलो व्यक्ति पनि हुन् । नासाको जोन्सन स्पेस सेन्टरकी निर्देशक भानेसा विचेले विलियम्सलाई अग्रणी नेतृत्वकर्ता बताउँदै उनका उपलब्धिले भावी पुस्ताका अन्वेषकहरूलाई प्रेरणा दिने उल्लेख गरिन् । विलियम्सले सन् २००६ मा पहिलोपटक स्पेस सटल डिस्कभरीमार्फत अन्तरिक्ष यात्रा गरेकी थिइन् । त्यसपछि उनले सन् २०१२ मा कजाखस्तानको बाइकोनुर कोस्मोड्रोमबाट उडान भरी अन्तरिक्ष स्टेशनको कमाण्डरको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।

हालसालै, सन् २०२४ को जुनमा विलियम्स र बुच विलमोर बोइङ स्टारलाइनरमार्फत अन्तरिक्षमा प्रस्थान गरेका थिए । उनीहरूले एक्स्पेडिसन ७१÷७२ मा सहभागिता जनाउँदै फेरि अन्तरिक्ष स्टेशनको कमाण्ड सम्हाले । उनी मार्च २०२५ मा स्पेसएक्स क्रु–९ मिसनमार्फत पृथ्वी फर्किएकी थिइन् । अमेरिकी नौसेनाकी अवकाशप्राप्त क्याप्टेन विलियम्ससँग ४० भन्दा बढी प्रकारका विमानमा ४ हजार घण्टाभन्दा बढी उडान अनुभव छ । उनले अमेरिकन नेभल एकेडेमीबाट भौतिक विज्ञानमा स्नातक र फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् ।

अवकाशपछि प्रतिक्रिया दिँदै विलियम्सले अन्तरिक्षलाई आफ्नो सबैभन्दा प्रिय स्थान बताइन् । “तीनपटक अन्तरिक्ष जाने अवसर पाउनु मेरो जीवनको ठूलो सम्मान हो । सहकर्मीहरूको साथ र समर्थनले नै मेरो २७ वर्षे नासा यात्रालाई सम्भव बनायो,” उनले भनिन् । उनले भविष्यमा नासा र साझेदार संस्थाहरूले चन्द्रमा र मङ्गलतर्फ नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेकी छन् । एएनआई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार