Skip to content

परिवर्तनको खाका कोर्न ताप्लेजुङमा डा. विरेन्द्र श्रेष्ठको उम्मेदवारी

कालोपाटी

३ दिन अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट ताप्लेजुङमा डा। विरेन्द्र श्रेष्ठ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। पञ्चमी बजारलाई पुर्ख्यौली घर बनाएका श्रेष्ठले उम्मेदवारी घोषणासँगै जिल्लाभर चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।

गायक तथा इन्जिनियरका रूपमा परिचित डा। श्रेष्ठ जलविद्युत क्षेत्रमा समेत अनुभवी व्यक्ति हुन्। उनले विभिन्न जलविद्युत परियोजनामा परियोजना व्यवस्थापकका रूपमा काम गरिसकेका छन्। यसअघि नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै आएका उनले सो दल परित्याग गरी रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

हाल चुनावी अभियानमा व्यस्त श्रेष्ठले समाजको नयाँ भविष्य निर्माण गर्ने उद्देश्यसहित आफू उम्मेदवार बनेको बताएका छन्। ‘इन्जिनियरको कलमले नक्सा मात्र होइन, समाजको भविष्य पनि कोर्छ,’ भन्दै उनले मतदातासँग घण्टी चुनाव चिह्नमा मतदान गरी परिवर्तनको नयाँ खाका निर्माणमा साथ दिन आग्रह गरेका छन्।

इलेक्ट्रोनिक इन्जिनियर रहेका श्रेष्ठले ताप्लेजुङमै बसेर फावाखोला जलविद्युत आयोजनाबाट ५ मेगावाट विद्युत उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यस्तै, माथिल्लो फावाखोला जलविद्युत आयोजनाबाट ६ मेगावाट विद्युत उत्पादनसमेत उनकै नेतृत्वमा सम्पन्न भएको हो।

ताप्लेजुङ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट गजेन्द्र तुम्यहाङ, नेकपा एमालेबाट क्षितिज थेबे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट खेलप्रसाद बुडाक्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चबाट मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) बाट अरुण लेछर्बो तथा नेपाल जनमुक्ति पार्टीबाट इन्द्र थलङ उम्मेदवार रहेका छन्।

त्यसैगरी, श्रम संस्कृति पार्टीबाट सुन्तोष राई, उज्यालो नेपालबाट कृतिमान मादेन, जसपा नेपालबाट सूर्य तमु र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट नरपती पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार