Skip to content

कोशीबाट राष्ट्रिय सभामा रोशनी मेचे निर्वाचित

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेकी मेचे विजयी भएकी हुन् भने दलित तर्फको मतगणना जारी छ। अन्य समूह तर्फ भने सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

रोशनी मेचे नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्रका रूपमा चिनिन्छिन्। एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी सदस्य रहेकी उनी प्राविधिक र वैधानिक कारणले त्यसबेला प्रतिनिधि बन्न अयोग्य ठहरिएकी थिइन्। तर अहिले उनी देशको माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित हुन सफल भएकी छन्।

उनको राजनीतिक यात्रामा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर गरेको कामलाई महत्वपूर्ण मानिन्छ। ओली प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत उनी एक्ली महिला थिइन्। झापा मेचीनगर–१२ (साविक धाइजन–३) मा जन्मिएकी मेचे आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय हुँदै आएकी हुन्।

नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुन्। झापाका मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल क्षेत्रमा बसोबास गर्ने मेचे समुदायका लागि उनको निर्वाचन गौरवको विषय बनेको छ।

शैक्षिक रूपमा पनि सबल मेचेले २०५५ सालमा विद्यालय शिक्षा पूरा गरी समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन्। उनी पेशाले अधिवक्तासमेत हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार