Skip to content

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ। निर्वाचनमा कुनै समस्या उत्पन्न भएमा तत्काल समाधान गर्ने उद्देश्यले आयोग परिसरमै उक्त केन्द्र स्थापना गरिएको हो।

आयोगका अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका थिए।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले कुनै निर्वाचन क्षेत्रमा समस्या आएमा त्यसको तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए। मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्याहरू संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट समाधान गरिने उनको भनाइ छ।

आयोगका सचिवको नेतृत्वमा रहने उक्त केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ। केन्द्रले निर्वाचनसम्बन्धी आवश्यक सूचना संकलन, विश्लेषण तथा तत्काल आवश्यक निर्णय लिने काम गर्ने जनाएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा केन्द्रको भूमिकालाई थप प्रभावकारी बनाइने आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार