Skip to content

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिबाट तालिम

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आवश्यक संख्याभन्दा कम दरखास्त परेका १६ जिल्लामा भने नतिजा प्रकाशनको तयारी भइरहेको छ । ती जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र बुधबार लिखित तथा मौखिक परीक्षाको नतिजा सार्वजनिक गरिने उनले जानकारी दिए ।

छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि १० दिने तालिम दिइनेछ । तालिम सकिएपछि उनीहरूलाई माघ २५ गतेदेखि फिल्डमा परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच, सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाइरहेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले सशस्त्र प्रहरीका निर्वाचन प्रहरी छनोट गरिरहेको छ । सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । प्रारम्भिक छनोटपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम दिने तयारी गरेको छ ।

यसपटकको निर्वाचनमा नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्नेछ । त्यसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन प्रहरीमा आवेदन दिने सबैको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरिएको छ । सीआरएस जाँचबाट अपराधमा संलग्न वा फरार अभियुक्त रहेको/नरहेको विवरण पत्ता लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार