Skip to content

बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भीड (सात तस्विर)

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौँ । दुई सातादेखि बजारमा खाना पकाउने ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। विशेष गरी नेपाल ग्यासमा सिलिन्डरको कमी देखिनु उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। भारतबाट समयमै ग्यास ढुवानी नभएको कारण उपभोक्ताले ग्यासको अभाव भोग्नु परेको हो।

नेपाल ग्यासका विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिन्डर लिएर बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको कार्यालयमा दैनिक सयौंको संख्यामा पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि ग्यास नपाएको गुनासो निरन्तर आइरहेको छ।

नेपाल आयल निगमले पनि उपभोक्ताको लामो लाइन र गुनासोबाट ध्यानाकर्षण भएको जनाएको छ। निगमका अनुसार बजारमा ग्यास अभावको हल्लाले केही उपभोक्ताले स्टक राख्ने प्रयास गरेकाले आपूर्तिमा समस्या देखिएको हो।

निगमले जाडो यामको मागलाई मध्यनजर गर्दै विगत तीन महिनादेखि निरन्तर ग्यास आपूर्ति गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ। नोभेम्बर २०२५ मा ४७ हजार २६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात भई बिक्री वितरण भइसकेको निगमले जनाएको छ।

हाल बजारमा केही सीमित उद्योगमा मात्र सिलिन्डरको अभाव देखिएको छ र ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाउन निर्देशन दिइएको छ। साथै, आसन्न निर्वाचनलाई ध्यानमा राख्दै निगमले नियमित कोटासँगै थप २ हजार मेट्रिक टन ग्यासको बोटलर्स वाइज एलोकेसन तयार पारेको जनाएको छ।

निगमले उपभोक्तालाई ग्यास आवश्यकता अनुसार मात्र खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। नेपाल ग्यास कम्पनीले ढुवानीमा देखिएको समस्या अझै कायम रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार