काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नाममा नक्कली चुनावी घोषणापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।
आफ्नो नाम दुरुपयोग गरी झुटा तथा भ्रामक सामग्री सार्वजनिक गरिएको आरोप लगाउँदै पुनले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायमा उजुरी दिएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार रहेका छन्।
उजुरीमा सामाजिक सञ्जालमार्फत फैलाइएका सामग्री अत्यन्त भ्रामक, असत्य र चरित्र हत्या गर्ने उद्देश्यले तयार गरिएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले मतदातालाई भ्रमित पार्नुका साथै स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियामाथि असर पुर्याएको दाबी गरिएको छ। उजुरीमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको उल्लेख छ।
‘मतदातालाई भ्रममा पार्ने, निर्वाचनको स्वच्छतामा असर पुर्याउने र समाजमा द्वेष फैलाउने उद्देश्यले भ्रामक सामग्रीहरू प्रसारण गरिएको छ,’ उजुरीमा भनिएको छ, ‘यस्ता सामग्री तत्काल हटाउन लगाई संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनअनुसार कडा कारबाही गरिनुपर्छ।’
पुनका अनुसार प्रतिस्पर्धी उम्मेदवारमध्ये कसैले मतदातामा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यले नक्कली प्रतिबद्धतापत्र तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको पाइएको हो। उनले पार्टीका तर्फबाट आधिकारिक चुनावी घोषणापत्र अन्तिम चरणमा रहेको र आफूले मौखिकबाहेक कुनै पनि लिखित छुट्टै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको स्पष्ट पारेका छन्।
पुनको नाममा सार्वजनिक गरिएको नक्कली घोषणापत्रमा रोल्पा सदरमुकाम र सुलिचौरलाई रेडलाइट एरिया घोषणा गर्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय तथा प्रत्येक वडामा क्याम्पस स्थापना गर्ने, माडीचौर फुटबल मैदानमा वीर अस्पतालभन्दा ठूलो अस्पताल बनाउने, मेट्रो रेल र केबलकार सञ्चालन गर्ने जस्ता अव्यावहारिक तथा भ्रामक विषय समेटिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्