Skip to content

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्व थप चर्किएको छ। इजरायल र अमेरिकाले इरानको साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि प्रतिकारस्वरूप इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको जनाइएको छ।

कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार उक्त आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो। आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ। कतारले घटनापछि इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको छ।

कतारको गृह मन्त्रालयले केही घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको जनाएको छ। सरकारले यस आक्रमणलाई राष्ट्रिय सुरक्षामाथिको गम्भीर चुनौती भन्दै कडा प्रतिक्रिया दिएको छ।

रास लाफान औद्योगिक क्षेत्र कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित प्रमुख ग्यास प्रशोधन केन्द्र हो। यहाँ विश्वकै सबैभन्दा ठूलो लिक्विफाइड नेचुरल ग्यास ९एलएनजी० निर्यात सुविधा रहेको छ र विश्वको करिब २० प्रतिशत ग्यास आपूर्ति यही क्षेत्रसँग सम्बन्धित मानिन्छ।

यस क्षेत्रको सञ्चालन नर्थ फिल्ड नामक विशाल ग्यास भण्डारबाट हुन्छ, जुन इरानको साउथ पर्स क्षेत्रसँग जोडिएको छ। त्यसैले यस क्षेत्रमा हुने कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्न सक्छ।

द्वन्द्वका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन प्रभावित भएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि गराएको छ। ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ।

यसैबीच, इरान र इजरायलबीच तीन सातादेखि जारी द्वन्द्व थप चर्किने संकेत देखिएको छ, जसले क्षेत्रीय मात्र नभई विश्वव्यापी असर पार्ने चिन्ता बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार