काठमाडौं । चैत ९ रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’मा तस्बिर प्रदर्शनी सुरु भएको छ। एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा सुरु गरिएको ‘गतलाङका महिलाको सङ्घर्ष’ शीर्षक प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर प्रस्तुत गरिएका छन्।
प्रदर्शनीको मुख्य उद्देश्य ग्रामीण महिलाको श्रम, संघर्ष र योगदानलाई उजागर गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएको छ। आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुनेछ। गतलाङ गाउँ, करिब ६ सय घरधुरी रहेको तामाङ र दलित समुदायको बसोबास क्षेत्र, कृषि, पशुपालन र पर्यटनमा आधारित जीवनशैलीका लागि परिचित छ। विशेषतः महिलाहरूले घरायसी कामदेखि पशुपालन, खेतीपाती र ऊनबाट राडीपाखी उत्पादनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
दोलखामा जन्मेका फोटो पत्रकार थोकर करिब दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन्। उनले ‘नेपाल समाचारपत्र’बाट यात्रा सुरु गरी ‘नागरिक दैनिक’ लगायतका सञ्चारमाध्यममा काम गरेका छन्। हाल उनी स्वतन्त्र रूपमा कार्यरत छन्। उनको ‘लाइफ इन प्यान्डेमिक’ नामक फोटो पुस्तक प्रकाशित भइसकेको छ, जसमा कोभिड–१९ महामारीका प्रभावहरू चित्रण गरिएको छ। थोकरले समाजमा ओझेल परेका विषयलाई फोटोकथामार्फत् उजागर गर्ने लक्ष्य लिएका छन्। ‘आवाजविहीनहरूको आवाजलाई दृश्य कथामार्फत् प्रस्तुत गरिरहनेछु,’ उनले बताएका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्