काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थप हिरासतमा राख्न म्याद थप गरिँदैछ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लेखकलाई भौतिक रूपमै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर र ओलीलाई सकेसम्म भौतिक, चिकित्सकले अनुमति नदिएमा भर्चुअल विधिबाट म्याद थप गरिने भएको छ । त्यसका लागि प्रहरी टोली ओलीको स्वास्थ्य स्थिति बुझ्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनले बताए ।
‘यदि उहाँलाई ल्याउन नमिल्ने रहेछ भने सरकारी वकिलको कार्यालयलाई त्यही जानकारी गराइदिन्छौँ, उहाँहरूले भर्चुवल रूपमा गरौँ भन्न सक्नुहुन्छ’, उनले भने ।
शनिबार पक्राउ परेका ओली र लेखकको आइतबार १० दिनका लागि अनुसन्धानको म्याद माग्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको थियो । तर, जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले ५ दिनको मात्रै म्याद दिए ।
अनुसन्धानका लागि आवश्यक पर्ने म्याद थपका निम्ति फेरि सिफारिस गरिएको भट्टराईले बताए ।
आज थप हुने म्यादभित्र एमाले अध्यक्ष ओलीको बयान गराइने उनले बताए । ‘आज उहाँ आउन सक्नुभयो भने आजै, अन्यथा अर्को कुनै अनुकूल दिनमा गर्न सकिन्छ’, उनले भने ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्