Skip to content

‘पशुपंक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँ’: स्वास्थ्यमन्त्री मेहता

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताउनुभएको हो ।

उहाँले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताउनु भयो ।

पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग र वातावरणीय प्रदुषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै, एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठूलो सङ्कट निम्त्याएको भन्दै उहाँले यसको समाधानका लागि सबै सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य रहेको बताउनु भयो । सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ यस वर्षको ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने विश्व स्वास्थ्य दिवसको नाराले पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने यी महत्वपूर्ण आयामहरूमा जोड दिँदै विज्ञान, नवप्रवर्तन र एक स्वास्थ्य अवधारणालाई सुदृढ बनाउने विशेष जोड दिएको छ ।

मानव, पशुपंक्षी र वातावरणले एकअर्कासँग घनिष्ट रूपमा जोडिएको विषय भएकोले जबसम्म प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ रहँदैनन् तबसम्म हामी पनि पूर्णरूपले स्वस्थ रहन सक्दैनौँ । त्यसैले जनस्वास्थ्य, कृषि तथा पशुपंक्षी र वातावरण क्षेत्रबिच सहकार्य अति नै जरुरी छ । हाम्रो देश नेपाल हजुरहरू सबैलाई थाहै छ कृषिप्रधान देश हो र यहाँ विशेषगरी जनसङ्ख्या कृषि र पशुपालनमा निर्भर छ । यसै सन्दर्भमा मानव, पशुपंक्षी र वातावरणीय अन्तरसम्बन्धले पनि स्वस्थ चुनौतीहरू सिर्जना भइरहेका छन् ।

जनावर तथा पशुपंक्षीबाट सर्ने अर्थात रोगहरू जोखिम बढिरहेको भने रेबिजजस्ता प्राणघातक रोगबाट पनि सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । त्यसैगरी जलवायु परिवर्तनका कारण किटजन्य रोगहरू वृद्धि भइरहेको छ । वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धित रोगहरू, क्यान्सर, मुटुरोग, मस्तिष्कघात जस्ता नसर्ने रोगहरू पनि भल बढिरहेको छ ।

अर्कोतर्फ हेर्ने हो भने मानव र पशुपंक्षीमा एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्याले पनि ठूलो सङ्कटको अवस्था निम्त्याएको छ । यी उदाहरणहरूबाट एउटा कुरा प्रस्ट हुन्छ, यस्ता खालका नयाँ स्वास्थ्य चुनौतीको समाधानका लागि हामी सबै क्षेत्र र सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य छ । प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क आधारभुत स्वास्थ्य सेवा पाउने अधिकार छ ।

स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ताको हक पनि स्वास्थ्यसँगै जोडिएका महत्वपूर्ण विषय हुन् । यी हकहरूको प्रभावकारी कार्यान्वयन गरी सुरक्षित नेपाल निर्माण गर्नु नै हाम्रो प्राथमिकता हो । हामी रोग लागिसकेपछि उपचार (क्युरेटिभ) मा जान्छौँ, तर अब हामीले रोकथाम (प्रिभेन्टिभ) पक्षमा बढी ध्यान दिनुपर्छ ।’

मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले जनचेतना फैलाउने कार्यमा सञ्चारकर्मी, सङ्घसंस्था र सरोकारवाला निकायहरूलाई हातेमालो गर्न समेत आह्वान गर्नुभयो । यस वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार