Skip to content

करण केसीलाई एक खेलमा प्रतिबन्ध र म्याच फी काट्ने क्यानको निर्णय

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।

प्रतिवन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।

करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।

करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ रु भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।

करणले हिजै उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन् । तर, अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्रै नपुग्ने बताए ।

उनले भने, ‘यो गम्भीर विषय हो, क्षमायाचनाले मात्रै पुग्दैन । क्यानले आवश्यक कारबाही गर्छ भन्ने विश्वास छ ।’

क्यानका प्रवक्ता छुम्बी लामाले पछिल्लो चरणमा खेलाडीहरू र अम्पायरबीच देखिएको असमझदारीलाई क्रिकेट संघले नजिकबाट नियालिरहेको बताए । करणको स्टाटसमाथि पनि क्यानको ध्यानाकर्षण भएको उनको भनाइ छ ।

लामाले भने, ‘आईसीसीको खेलाडी आचारसंहिता, क्यानसँगको सम्झौतामा खेलाडीको आचारसंहिता, प्रधानमन्त्री कपको गाइडलाइनभित्र रहेर म्याच रेफ्रीले दिएको रिपोर्टका आधारमा क्यानको प्राविधिक समितिसँग छफल गरेर क्यानले निर्णय लिएका हो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार