Skip to content

‘बालेन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जित हो’: प्रचण्ड

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दै संयोजक प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए ।

उनले भने, ‘परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ ।’

प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जितको रूपमा व्याख्या गरे । बालेन र रवि लामिछानेलाई निर्वाचनमा जितेर सरकार बनाउन सफल भएकोमा बधाई दिँदै प्रचण्डले भने, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो ।’

प्रचण्डले विगत र वर्तमानबीच तथ्यांकमै आधारित तुलना गर्दै संसदको रूपान्तरणलाई स्पष्ट पारे । आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे ।

‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ,’ प्रचण्डले भने, ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू र ?’

पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको बताउँदै प्रचण्डले क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गरे ।

प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी शहीदहरूको बलिदानको उपज भएको बताए । उनले भने, ‘बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं शहीदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौं ।’

उनले भावुक हुँदै थपे, ‘यो भवनको जगमा त्यही शहादत छ । यसका हरेक भित्ता बलिदानले रंगिएका छन् । म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका शहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा गर्दै उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाइको सफलतालाई स्वीकार गर्दै बालेन र रवि लामिछानेलाई बधाई दिए । ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता पाएको छ । त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,’ उनले भने ।

रुकुम पूर्वबाट निर्वाचित उनले जनताप्रति आभार व्यक्त गर्दै भने, ‘यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका र हामी सबैलाई विजय गराउनुहुने आम नेपाली जनताप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु ।’

नयाँ सांसदहरूलाई बधाई दिँदै उनले भने, ‘जनताबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यहरुलाई हार्दिक बधाइ र शुभकामना छ ।’

उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे । साथै बलिदानलाई बिर्सेमा यो भवन नै ढल्ने चेतावनी दिनुभयो । ‘मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफैं ढल्नेछ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार