Skip to content

‘सुशासनको नाममा सरकारले निजी क्षेत्रलाई आतंकित पार्ने काम गर्‍यो’: रामकुमारी

कालोपाटी

७ मिनेट अगाडि

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी हुन् ।

उनले रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानुन तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानुनको मर्मविपरित रहेको भन्दै निन्दा गरिन् ।

उनले बचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्ति कसको हो ? भन्ने प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानुनी भएको बताइन् ।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘केही दिनअघि इनभेस्टमेन्ट मेघा बैंकको सीईओलाई प्रहरीले समात्यो । आरोप के छ भने लेक्विडेसनमा गएको रिसेड्युल एसेट कसको हो भनेर सीईओले भन्नुपर्ने ।

तर बैंक र प्रचलित कानुनको हिसाबले के भन्छ भन्ने कुराको हेक्का नभई जनता र बचतकर्ताको ऋण प्रवाह गर्ने सीईओ र त्यसको संरक्षण गर्ने सीईओलाई सम्पत्ति कसको हो र प्राथमिकता कसको हुन्छ भनेर कुरिबस्नुपर्छ जस्ता आक्षेप र लञ्छानाले बैंक का सीईओ समात्ने र निजी क्षेत्रलाई आतंकित गर्ने, काम गर्न नदिने जे आतंक सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा गरिरहेको छ यो निन्दनीय छ ।

तर्साएर शासन गर्ने दिन ढिलो चाँडो जान्छ । त्यसैले यसमा ध्यान दिएर सरकारले प्रचलित कानुनको हेक्का राखोस् ।’उनले प्रचलित कानुनको हेक्का राख्न समेत सरकारलाई चेतावनी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार