काठमाडौं । काठमाडौं चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ ।
७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पनि सकिएको छ । कालोपत्रे गरिएको चिल्लो सडक, व्यवस्थित लेन र सफा संरचनाले यो खण्डलाई आकर्षक बनाएको छ ।
महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्म सडक विस्तार गर्ने योजनाअन्तर्गत विनियोजित बजेटबाट यो खण्ड निर्माण गरिएको हो । चीनले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक निर्माण गर्ने भएपछि बीचमा पर्ने नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो ।
डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो । यो सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण सम्पन्न भएको यो सडकखण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डकै मापदण्डअनुसार विस्तार गरिएको छ । उक्त १०.३९ किलोमिटर सडकखण्ड चीन सरकारको सहयोगमा विस्तार गरी २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तारका लागि नेपाल र चीनबीच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।
हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ । सरकारले काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाएको छ । नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड सम्पन्न भएसँगै महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्