काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले यो जानकारी दिएका हुन् ।
सांसद बोहोराले बुधबार साँझ बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘लगत्तै हाम्रो परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदैगर्दा खेरी हाम्रा कन्सर्नका विषयहरु केके हुन्, हाम्रा प्राथमिकताका विषय केके हुन्, हामीले गर्नुपर्ने भारतसँगका सहकार्यमा केके बाँकी छन्, केके अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभाछ । परराष्ट्रमन्त्री जयशंकरले भन्नुभाको छ ।’
तर परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति भने उनले खुलाएनन् ।
परराष्ट्रमन्त्री खनालको सचिवालयले पनि भारत भ्रमणको मिति फिक्स्ड भइनसकेको तर मितिबारे काठमाडौंस्थित भारतीय दूतावास मार्फत् छलफल भइरहेको जनाएको छ ।
मन्त्री खनालको सचिवालयका एक सदस्यले आज बिहान अनलाइनखबरसँग भने, ‘भारत कहिले जाने भन्ने निश्चित भइसकेको छैन, आज बेलुकासम्म फिक्स्ड हुन्छ कि ।’
दुई देशका सरोकारका विषयमा चेक लिस्ट बनाएर काम गर्ने
जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले बुधबार मोदीसँग एक घण्टा भन्दा बढी समयसम्म भेटवार्ता गरेका थिए । मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरुसँग भेटवार्ता भएको थियो ।
भेटपछि मोदीले एक्समा नेपालीमै लेखेर साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनामा पूर्णरुपमा सहमत भएको जानकारी दिएका थिए । लामिछानेले पनि मोदीसँग फलदायी सम्वाद भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । उनले मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए ।
मोदीसँगको भेटमा भएका कुराकानीबारे जानकारी दिँदै सांसद बोहोराले नेपाल–भारतबीचका सीमा समस्यासहित समग्र विषयहरुमा छलफल भएको बताए ।
बोहोराका अनुसार मोदीले छलफलका लागि हाइड्रो, एयरपोर्ट, सीमा लगायतकाको सूची बनाउन आग्रह गर्दै ती विषय आफ्नो पनि प्राथमिकतामा रहेको बताएका थिए । ‘नेपालका हाइड्रो, एयरपोर्ट, सीमाका विषयमा, नेपाल र भारत बीच जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुस्, ल्याउनुस्, त्यसको डेटलाइन बनाऔं, उच्च प्राथमिकतामा छ त्यो काम मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्रीले,’ बोहोराले भनेका छन् ।
बोहोराका अनुसार प्रधानमन्त्री मोदीले लामिछानेको भ्रमणलाई उच्च प्राथमिकता दिएको र नेपालसँगका हरेक विषयमा काम गर्न तयार रहेको बताएका थिए ।
‘उहाँले भन्नुभयो, म नेपाल गएँ पहिलोचोटि प्रधानमन्त्री भएपछि । २० वर्षपछि मैले सदनमा बोलेको थिएँ– एक घण्टाको बाटो छ, तर आते–आते २० वर्ष लग गए भनेको उहाँले सम्झिनुभयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा । भनेको, उच्च प्राथमिकतामा राख्नुभयो रवि लामिछानेको यो भ्रमणलाई,’ बोहोराले भनेका छन्, ‘नेपालसँग हुने हरेक विषयमा हामी काम गर्न तयार छौं । पटक–पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो ।’
रवि भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्किँदैछन् । लगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने र ब्युरोक्रेसी तथा मन्त्रीस्तरमा हुनुपर्ने काम अगाडि बढाउने बोहोराको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्