Skip to content

‘हिजो माओवादीविरुद्ध बोल्दा बन्दुक आउँथ्यो, अहिले फेसबुक आउँछ’ : राजेन्द्र लिङ्देन

कालोपाटी

१२ मिनेट अगाडि

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश जुनसुकै बेलामा दुर्घटनामा जानसक्ने बताएका छन्। कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै देश भूराजनीतिक रूपले पनि एउटा विपत्तिको मुखमा पुगेको बताए।

उनले भने, ‘नयाँ सरकार आयो, देश अब एउटा बाटोमा गयो भन्ने कुरा होइन, देश अहिले झन् ठूलो अँध्यारो सुरुङमा प्रवेश गरेको छ। कुनै पनि बेला देश दुर्घटनामा जान सक्ने सम्भावनाहरू बढेर गएको छ। त्यसैले नेपाली जनताले आशा गर्ने र देशलाई निकास दिन सक्ने एउटै मात्रै पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो।’

उनले अधिवेशनको बाटोबाट पूर्ण रूपमा पार्टीलाई सुधार गरेर लैजानुपर्ने बताए।

उनले थपे, ‘राप्रपाको राष्ट्रिय राजनीतिमा सम्भावना अझ झन् बढेर गएको छ, अझ बलियो भएर गएको छ। अब कांग्रेस, कम्युनिस्टहरू फेरि उठ्न सक्ने अवस्थामा छैनन्। नयाँ भन्नेहरू कुहिरोमा हराएको काग जस्तो भएका छन्। यत्रो प्रचण्ड बहुमत प्राप्त गर्दाखेरि पनि सामान्य दैनिक प्रशासन समेत सञ्चालन गर्न सक्ने अवस्थामा छैनन्।’

उनले सरकारविरुद्ध बोल्दा सामाजिक सञ्जालमा आक्रमण हुने भएको जनता नबोलेको बताए।
उनले थपे, ‘आज मान्छेले नबोलेको मात्रै हो। हिजो माओवादीविरुद्ध बोल्दा बन्दुक आउँथ्यो, अहिले यो सरकारको गलत क्रियाकलापको विरुद्ध बोल्यो भने फेसबुक आउँछ। त्यसैले मान्छे नबोलेको मात्रै हो। तर, देश ठीक ठाउँमा छैन। यो कसै न कसैले बोल्नुपर्छ, देश ठीक ठाउँमा छैन।’

भूराजनीतिको हिसाबले अहिले नेपाल अत्यन्त जोखिममा प्रवेश गरेको भन्दै विश्व समुदायबाट नेपाल एक्लिँदै गएको बताए। उनले एकल बहुमत पार्टीको संसद् ५ वर्ष नचलेको विगत स्मरण गरे।

उनले थपे, ‘१५ सालमा नेपाली कांग्रेसले दुई तिहाइ ल्यायो, त्यो ५ वर्ष चलेन। ४८ सालमा कांग्रेसले बहुमत ल्यायो, त्यो ५ वर्ष चलेन। ५४ मा पनि त्यसै प्रकारका बहुमतहरू आए तर त्यो कुनै पनि संसद् ५ वर्ष चलेको छैन। अहिले भन्नु हतार जस्तो हुन्छ, तर हाम्रो कार्यकर्ता पङ्क्तिलाई भनेर जान्छु यो संसद् पनि ५ वर्ष जान्छ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले हामी सच्चिएर, सुध्रिएर तयार बनौँ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार