काठमाडौं । सामाजिक सञ्जालमा कुलेखानी जलविद्युत आयोजनाको बाँध खोलिएको भनी फैलिरहेका भिडियो तथा खबरहरू पूर्णतः भ्रामक र असत्य रहेको आयोजनाले बताएको छ ।
कुलेखानी प्रथमका कार्यालय प्रमुख प्रह्लाद राउतले सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरू दुई–तीन वर्ष पुराना रहेको र हाल बाँधका ढोकाहरू नखोलिएको बताए । उनले आम नागरिकमा त्रास फैलाउने खालका असत्य सामग्री सम्प्रेषण नगर्नसमेत आग्रह गरे ।
आयोजना प्रमुख राउतका अनुसार हाल विद्युत् गृहका मेसिनहरू निरन्तर चलाएर पानीको सतह नियन्त्रणमै राखिएको छ । आयोजना प्रमुखले भने, ‘हाल पानीको सतह २३.१८ मिटर पुगेको र जलाशयको कूल क्षमता ३० मिटर रहेको छ । अझै करिब ७ मिटर क्षमता बाँकी रहेको छ ।’
हालको जल सतह अनुसार बाँध पूर्ण भरिन अझै करिब सात मिटर क्षमता बाँकी रहेको छ । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म पानी पर्ने प्रक्षेपण गरे पनि जलाधार क्षेत्रमा लगातार वर्षा नहुन सक्ने र सामान्य वर्षा भएमा बाँधको ढोका नै खोलेर पानी छाड्नुपर्ने अवस्था नआउने आयोजनाको आकलन छ ।
निरन्तर वर्षा भई जल सतह उच्च विन्दुमा पुगेर बाँधका ढोकाहरू खोल्नुपर्ने स्थिति आएमा तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउन पूर्व–सूचना प्रणाली तयार राखिएको छ । बाँध खोल्नुपर्ने अवस्था सिर्जना हुनुअघि विभिन्न स्तरमा गरी तीन पटक साइरन बजाइने छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा प्रत्यक्ष एसएमएस समेत पठाइने आयोजनाले बताएको छ ।
विगतका वर्षहरूमा पनि नेपाल टेलिभिजन लगायतका आमसञ्चार माध्यमबाट पूर्व–सूचना सम्प्रेषण गरिएको स्मरण गराउँदै प्रमुख राउतले कुनै पनि भ्रम वा अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्