काठमाडौं । कैलालीको भजनीमा भारतबाट ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
भजनी नगरपालिका–३ ठेकीपुरचोकमा बिहीबार ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद पक्राउ परेका छन्। उनीहरूलाई घटनाकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार कुटपिटपछि आरोपितहरू सामानसहित भागेका थिए। त्यसक्रममा अवैध रूपमा ल्याइएको भनिएको सामान भने प्रहरीले बरामद गर्न सकेन।
‘कुटपिट गरेर भागेकाले सामान समात्न सकिएन, अनुसन्धान भइरहेको छ।’, प्रवक्ता तिमिल्सिनाले भने।
कुटपिटबाट इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन्। दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
घटनामा अवैध सामान ओसारपसारमा प्रयोग भएको आशंकामा प्रहरीले दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। प्रहरीले से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले भारतबाट ल्याइएको भनिएको सामान के थियो भन्ने विषयमा भने अनुसन्धानपछि मात्रै खुल्ने जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्