Skip to content

पार्टी रूपान्तरणको एजेन्डासहित डा. भद्राको केन्द्रीय सदस्यमा दाबी

कालोपाटी

५१ मिनेट अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय सदस्य पदका आकांक्षीहरू बढ्न थालेका छन्। यसैक्रममा सभापति गगन थापाको वैचारिक धारसँग निकट रहेर पार्टी राजनीतिमा सक्रिय डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेकी छन्।

पार्टी रूपान्तरण, पुस्तान्तरण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आएकी भण्डारीले आफ्नो उम्मेदवारीलाई ‘नवीन कांग्रेस’ निर्माणको अभियानसँग जोडेर अघि सारेकी छन्। कांग्रेसलाई समयसापेक्ष, आधुनिक र जनउत्तरदायी बनाउन केन्द्रीय समितिमा नयाँ सोच, ऊर्जा र वैचारिक स्पष्टता भएका नेतृत्व आवश्यक रहेको उनको धारणा छ।

भण्डारीले कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। उनले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा रहेर पार्टीका नीति, समसामयिक राजनीतिक विषय तथा नयाँ विचारलाई कार्यकर्तामाझ पुर्‍याउने कामसमेत गरेकी छन्।

त्यस्तै, बागमती प्रदेश कार्यसमितिमा रहेर काम गरिसकेकी भण्डारी पार्टी संगठनसँगै समसामयिक राजनीति, कांग्रेसका चुनौती र महिला नेतृत्वका विषयमा लेखन तथा विश्लेषणमा पनि सक्रिय रहँदै आएकी छन्।

कांग्रेसमा महिला सहभागिता संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित हुन नहुने बहस भइरहेका बेला भण्डारीले आफ्नो उम्मेदवारीलाई नीतिगत र वैचारिक भूमिकासँग जोडेर प्रस्तुत गरेकी छन्। उनको उम्मेदवारीलाई पार्टीभित्र महिला नेतृत्वको उपस्थिति र वैचारिक बहसलाई थप बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।

‘१५औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चुन्ने कर्मकाण्ड होइन, यो त पार्टीको भविष्य र रूपान्तरणको दिशा तय गर्ने ऐतिहासिक अवसर हो,’ भण्डारीले भनेकी छन्।

गगन थापाले अघि सारेको ‘नवीन कांग्रेस’को अवधारणालाई संस्थागत गर्न केन्द्रीय समितिमा नयाँ सोच, ऊर्जा र नीतिगत स्पष्टता भएका व्यक्तिहरूको आवश्यकता रहेको उनको भनाइ छ। १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रममा भण्डारीको उम्मेदवारीलाई पनि महाधिवेशन प्रतिनिधि तथा पार्टीभित्र चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार