Skip to content

‘मान्छे फेरिएर मात्र हुँदैन रहेछ भन्ने यो ६ महिनामा देखियो’: राजेन्द्र लिङदेन

कालोपाटी

१६ मिनेट अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले देश यतिबेला अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गरेका छन् । पछिल्लो ६ महिनामा पात्रहरु बदलिए पनि देशको अवस्थामा कुनै सुधार नआएको बरु झनै बिग्रेर गएको उनको भनाइ छ ।

आज काठमाडौंमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रुपमा बोल्दै लिङदेनले यस्तो बताएका हुन् । उनले कांग्रेसको १४ औं महाधिवेशनमा आफूले गरेको भाषण सम्झिए । त्यसबेला उनले ‘जनताको नजरमा सबै नेता चोर हुन्’ भनेपछि निकै विवाद भएको थियो ।

लिङदेनले आफूले त्यसबेला बोलेको कुरा र अहिलेको परिस्थितिमा कुनै परिवर्तन नआएको बताए ।

उनी भन्छन्, ‘त्यसबेला आमजनतामा नेताप्रति जति वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन । योबीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर देशको अवस्था झन् जटिल बनेको छ । देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन् बढेको छ । देश ठीक ठाउँमा नआएको मात्र होइन, लिकबाट बाहिर गएको छ । हिजो सरकारको विरोध गर्दा गाली आउँथ्यो भने आज सामाजिक सञ्जाल लगाइन्छ । पात्र फेरियो प्रवृत्ति फेरिएन ।’

लिङदेनले मान्छे फेरेर मात्र हुँदैन रहेछ भन्ने पछिल्लो ६ महिनामा देखिएको बताए । अब राजा र जेनजीसमेतलाई सँगै ल्याएर नविन समझदारीमा जान उनले आह्वान गरे ।

उनले भने, ‘तपाईंहरुले उत्कृष्ट भनेर ल्याउनुभएको व्यवस्था देशमा छ । संविधानमा छ । तर यो संविधान गीता, बाइबल, पुराण होइन, छुनु र चलाउनु नहुने । हिजो राम्रै सोचेर बनाउनुभयो होला । तर आज त्रुटि नै त्रुटीका चाङ भेटिएका छन् । अब नमिलेका चिजहरू मिलाएर जानुपर्छ । कमजोरी सुधारेर जानुपर्छ । निषेधको राजनीति लामो समयसम्म चल्दैन । राजाबाट दलहरुलाई र दलहरुले राजालाई निषेध गरे होलान् । यो निषेधको राजनीतिले देशलाई कहाँ पुर्‍यायो रु त्यसको बारेमा भनिराख्न पर्दैन । अहिले पनि बिग्रेको छैन । देशमा नवीन समझदारीको खाँचो छ । अब राष्ट्रिय सहमतिको खाँचो छ । कसैले नहार्ने, सिंगो देशले जित्ने सहमति निर्माण गरेर जानुपर्छ । राजादेखि राजनीतिक दलहरु नवयुवा पुस्ता सबैलाई एक ठाउँमा राखेर निकास दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार