Skip to content

स्थानीय तहको चुनावपछि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने नेकपाको तयारी

कालोपाटी

३७ मिनेट अगाडि

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्नेबारे छलफल भएको छ।

मंसिरमा महाधिवेशन सम्भव नहुने निष्कर्ष निकाल्दै नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन लागेको हो।

यसअघि नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर त्यो महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ।

महाधिवेशनबारे निर्णय लिनको लागि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २३ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएका छन्।

यो बैठकले महाधिवेशन र पार्टीको दुई महिने अभियानबारे निर्णय लिने प्रवक्ता प्रकाश ज्वालाले बताए। उनले भने, पार्टीको यसअघिको कार्यतालिका प्रभावित भइसकेको छ। त्यसैले महाधिवेशन र पार्टीबारे अब बस्ने बैठकले निर्णय लिन्छ।’

सदस्यता नवीकरण र वितरणलगायतका काम नै नसकिएकाले चुनावपछि महाधिवेशन गर्नेबारे छलफल भएको एक नेताले बताए।

ती नेताले भने, ‘संयोजक र सहसंयोजनकले शीर्ष तहमा छलफल गरिराख्नुभएको छ। कुनै निर्णय भएको छैन। अब स्थानीय चुनावको तयारीमा लाग्नुपर्ने भएकाले महाधिवेशनमा अलमल नगर्ने कि भन्ने छ। अब बस्ने बैठकले निर्णय लिन्छ।’

पार्टी घोषणा भएको एक वर्ष पुग्न लाग्दापनि अझै समायोजनको काम टुङ्गिन सकेको छैन। अझै पनि साङ्गठनिक संरचनाहरू अलग–अलग रूपमा सञ्चालन हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार