काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । भूमिगत विद्युत लाइन विस्तारका क्रममा कामलाई सुरक्षित र सहज बनाउन प्राधिकरणले कात्तिक १३ गते देखि कात्तिक २० गतेसम्म राजधानीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडरहरूमा तार भूमिगत गर्ने काम गर्नुपर्ने भएकाले आठ दिनसम्म सम्बन्धित क्षेत्रमा बिजुली काटिने जनाएको हो । प्राधिकरणका अनुसार तोकिएका दिनहरूमा बिहान १०ः ३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ । त्यसैगरी, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म बिजुली अवरुद्ध हुनेछ ।
यस्तै, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती गरिनेछ । कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र र १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
मौसम प्रतिकूल भएको खण्डमा भने यो निर्धारित कार्यतालिका रद्द वा परिवर्तन हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ । सहरको सौन्दर्य बढाउन र विद्युत् वितरण प्रणालीलाई सुरक्षित बनाउन लाइन भूमिगत गर्ने काम भइरहेकाले यस अवधिमा पर्न जाने असुविधाप्रति बुझिदिन प्राधिकरणले उपभोक्तासँग आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्