Skip to content

कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । कामना सेवा विकास बैंकले धरानमा सञ्चालित टेम्पु तथा सिटी सफारीमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन २०० थान डस्टबिन वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत शाखा कार्यालय धरानमार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन उपलब्ध गराएको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्र विक्रम बेघाको उपस्थितिमा डस्टबिन हस्तान्तरण गरेका हुन् ।

डस्टबिन वितरण कार्यक्रममा बोल्दै भुसालले सार्वजनिक यातायातका साधनमा डस्टबिनको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहजता आउने बताए । यसले यात्रुहरूमा समेत सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह गर्ने र स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।

त्यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले यात्रुहरूलाई जथाभावी फोहोर नफाल्न प्रोत्साहित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । नगरलाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउन बैंकले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।

बैंकले वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार